पशुपति आर्यघाटमा शवको हड्डी चाेरिएकाे आराेपमा घाटे बाहुनसहित दुई जना सात दिन हिरासतमा

काठमाडौँ, २६ साउन । पशुपतिस्थित आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी चाेरेर बिक्री गरेको आरोपमा पक्राउ परेका दुई जनालाई अनुसन्धानका लागि सात दिन हिरासतमा राखिने भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पक्राउ पर्नेमा काभ्रेका ६१ वर्षीय जीवनाथ ढकाल र उदयपुरका २४ वर्षीय विनायक मैनाली छन्। उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सात दिनको म्याद थप गरेको हो।

पक्राउ परेकामध्ये ढकाल आर्यघाटमा काम गर्ने घाटे बाहुन र मैनाली उनका सहयोगी हुन्। उनीहरूले गत शुक्रबार दिउँसो जल्दै गरेको एक शवको चिताबाट हड्डी झिकेर बट्टामा राखी बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले हड्डी किन्ने व्यक्तिको खोजी गरिरहेको छ भने यस्तो अमानवीय कार्य के प्रयोजनका लागि गरिएको थियो भन्नेबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।