भक्तपुर मालपोतमा साढे २४ लाख घुससहित पक्राउ परेका प्रमुखसहित दुई कर्मचारी माथि विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालयमा २४ लाख ५० हजार रुपैयाँ घुस लिएको रंगेहात पक्राउ परेका कार्यालय प्रमुख कुमार आचार्य र एक सहयोगीलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आयोगका अनुसार, चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना क्षेत्रफलको जग्गाको मोही लगत कट्टा गरी प्रमाण पुर्जा बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग उक्त रकम मागिएको थियो । सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाएको अख्तियारले घुस रकमसहित दुवैलाई नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, कार्यालय सहयोगी टिकाराम राउतले सेवाग्राहीबाट रकम लिए पनि यो सम्पूर्ण योजना कार्यालय प्रमुख आचार्यकै निर्देशन र मिलेमतोमा भएको अनुसन्धानबाट खुलेको छ । अख्तियारले आचार्य र राउतको साथबाट घुसबापत लिइएको २४ लाख ५० हजार नगद र मोबाइल फोन समेत बरामद गरेको थियो ।
अख्तियारले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबरको जरिवाना माग दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । यो घटनाले सरकारी कार्यालयहरूमा हुने संस्थागत भ्रष्टाचारको भयावह अवस्थालाई पुनः उजागर गरेको छ ।