कानुनी प्रतिबन्धकाे अवज्ञा गर्दै कालीगण्डकीमा अवैध उत्खनन, जलजला गाउँपालिकालाई डेढ करोड जरिवाना गर्न निर्देशन

पर्वत, २९ साउन । सरकारले वर्षायामका तीन महिना (असार-भदौ) नदीजन्य पदार्थ उत्खननमा लगाएको प्रतिबन्धको ठाडै अवज्ञा गर्दै पर्वतस्थित कालीगण्डकी नदीमा अवैध दोहन मौलाएको छ । जिल्ला समन्वय समिति, पर्वतले हालै गरेको अनुगमनले दिनरात नभनी लुकीछिपी बालुवा र ढुङ्गा निकाल्ने कार्य भइरहेको तथ्य उजागर गरेको हो ।

समितिका संयोजक विष्णुराम विकको नेतृत्वमा खटिएको अनुगमन टोलीले पर्वत-म्याग्दी सिमानादेखि दमुवाखोलासम्म १० वटा अवैध घाट सञ्चालनमा रहेको फेला पारेको छ । टोलीले बिक्री भइसकेको बाहेक करिब १४ हजार घनमिटर बालुवा र उत्खननमा प्रयोग गरिएको एउटा नम्बर प्लेट नभएको एक्साभेटर जफत गरेको छ ।

जफत गरिएको बालुवाको परिमाणअनुसार स्थानीय जलजला गाउँपालिकालाई करिब डेढ करोड रुपैयाँ जरिवाना असुल गर्न निर्देशन दिइएको संयोजक विकले जानकारी दिनुभयो । जलजला गाउँपालिका कार्यालयबाट करिब १०० मिटरकै दूरीमा उत्खनन गरिरहेको एक्साभेटरलाई समेत सिल गरिएको छ, जसले अवैध कार्यमा स्थानीय तहको मिलेमताे देखाउँछ ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अवैध उत्खनन रोक्न नगर प्रहरी परिचालन गरे पनि उनीहरूले लुकीछिपी काम गर्ने गरेको बताउनुभयो । उहाँले यस कार्यलाई पूर्ण रूपमा रोक्न प्रहरी प्रशासन र जिल्ला अनुगमन समितिको थप सहयोग आवश्यक रहेको बताउनुभयो ।

चार वर्षसम्म सर्वोच्च अदालतको आदेशले रोकिएको उत्खनन कार्य गत कात्तिकमा रिट खारेज भएसँगै पुनः सुरु भएको थियो । तर, वर्षायामको प्रतिबन्धलाई भने उत्खननकर्ताहरूले निरन्तर लत्याइरहेका छन् ।