कालीगण्डकी करिडोर दुई दिनपछि खुल्यो, मदनभण्डारी राजमार्ग अझै अवरुद्ध

गुल्मी, २९ साउन । लगातारको वर्षाले खसेको पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा बुधबार बिहानदेखि बन्द सडक सुचारु भएपछि यात्रुहरूले राहत महसुस गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारुका अनुसार, सडक निर्माणमा संलग्न कम्पनीले स्काभेटर प्रयोग गरी चट्टानसहितको पहिरो पन्छाएपछि यातायात पूर्ण रूपमा खुलेको हो ।

यसैबीच, पहिरोकै कारण आज बिहानदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गतको रिडी–तम्घास सडक खण्ड भने अझै सुचारु हुन सकेको छैन । रुरुक्षेत्र गाउँपालिका–३ को बाख्रे भीरमा माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउने प्रयासमा कठिनाइ भइरहेको डीएसपी सारुले बताउनुभयो ।

रिडी–तम्घास सडक अवरुद्ध भएपछि सवारी साधनहरूलाई रुरुक्षेत्र–३ को पानीट्याङ्कीबाट थोर्गा हुँदै सालबिसौनाको वैकल्पिक मार्ग प्रयोग गर्न लगाइएको छ । उक्त सडक खण्डमा हाल समानान्तर जेभी र इलाइट कम्पनीले सडक फराकिलो बनाउने तथा कालोपत्रे गर्ने काम गरिरहेका छन् ।

गुल्मी र आसपासका जिल्लाहरूमा विगत तीन दिनदेखि वर्षा जारी छ, जसका कारण बडिगाड खोला र कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रशासन कार्यालय, गुल्मीले बाढी र पहिरोको जोखिम बढेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ ।