प्रहरीले चलायाे नेपालगञ्जमा गाेली, चार जना पक्राउ
बाँके, ३० साउन। बाँकेको नेपालगञ्जमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।
प्रहरीमाथि नै आक्रमण भएपछि भएको दोहोरो झडपमा एक भारतीय नागरिक घाइते भएका छन् भने प्रहरीले दुई भारतीयसहित चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन बरामद भएको छ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह र २६ वर्षीय भाइजन अन्सारी तथा भारतको बहराइच, रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको टोलीले नेपालगञ्ज-४ मा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई रोकेर खानतलासी गर्न खोजेको थियो। सोही क्रममा उनीहरूले प्रहरी टोलीमाथि इँटा प्रहार गरी भाग्न खोजेका थिए। कारोबारीको आक्रमणबाट एक प्रहरी जवान घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, आत्मरक्षाका लागि र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो। प्रहरीले चलाएको गोली भारतीय नागरिक कार्त्तिककुमारको दायाँ खुट्टामा लागेको छ। घाइते कार्त्तिकलाई उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीले उनीहरूको साथबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ। पक्राउ परेका चारै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।