पत्नीको हत्या गरी ‘हराएको’ निवेदन दिने युवक पर्साबाट पक्राउ

काठमाडौं, १ भदौ। काठमाडौंको गोङ्गबुस्थित एक गेस्ट हाउसमा पत्नीको हत्या गरेर फरार भएका युवक पर्साबाट पक्राउ परेका छन्।

काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरीलाई २७ वर्षीया पत्नी ललिता विकको हत्या आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, सेन्चुरीले गत साउन २७ गते ‘घुम्न जाऊँ’ भन्दै पत्नी ललितालाई गोङ्गबुस्थित कञ्चन कोशी होटल एन्ड लजमा लगेका थिए। त्यहीँ उनको हत्या गरी शवलाई कोठाको बक्स पलङमुनि लुकाएर उनी फरार भएका थिए।

घटनालाई लुकाउन र प्रहरीलाई गुमराहमा पार्न उनले भोलिपल्ट, साउन २८ गते, प्रहरी वृत्त महाराजगन्जमा पुगेर ‘पत्नी हराएको’ भन्दै निवेदनसमेत दिएका थिए।

तर, साउन ३० गते गेस्ट हाउसमा दुर्गन्ध आएपछि प्रहरीले खानतलासी गर्दा बक्स पलङमुनि ललिताको शव फेला पारेको थियो। गेस्ट हाउसमा शव भेटिएको सूचना पाएपछि सेन्चुरी काठमाडौंबाट भागेर पर्सा पुगेका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई पर्साबाट पक्राउ गरेको हो। पक्राउ परेका सेन्चुरीलाई काठमाडौं ल्याइँदैछ र घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।