नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने ७ अर्ब ७३ करोड नाघ्यो

काठमाडौं, १ भदौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ।

पछिल्ला दिनहरूको घट्दो प्रवृत्तिलाई निरन्तरता दिँदै नेप्से २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा झरेको हो। यद्यपि, बजार घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ।

आइतबार २४९ कम्पनीको २ करोड ५ लाख कित्ताभन्दा बढी सेयर ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ मा खरिदबिक्री भयो। यो अघिल्लो कारोबार दिन (बिहीबार) को ७ अर्ब ४६ करोडको तुलनामा बढी हो।

आज कारोबारमा आएका सबै १३ वटै उपसमूहको सूचक राताम्मे भएका छन्। व्यापार, अन्य, लघुवित्त, उत्पादन तथा प्रशोधन र बैंकिङ समूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.१५ अंक र फ्लोट इण्डेक्स १.७४ अंकले घटेको छ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरूमा नेपाल रिइन्स्योरेन्स कम्पनी: ५१ करोड ६७ लाख रुपैया, हिमालयन रिइन्स्योरेन्स कम्पनी: ३५ करोड ४५ लाख रुपैयाँ र नेपाल रिपब्लिक मिडियाले २४ करोड ९६ लाख रुपैयाँ काराबार गरकाे छ ।

बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले कमाएका छन्। आरबीबी म्युचुअल फण्ड–१ को इकाई मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले बढेको छ। त्यसैगरी, अपर स्याङ्गी हाइड्रोपावरको मूल्य ६.२९ प्रतिशत र कालिका पावरको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।

अर्कोतर्फ, सम्पदा लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने ट्रेड टावर कम्पनीको मूल्य ५.८८ प्रतिशतले घटेको छ। आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण ४६ खर्ब १० अर्ब रुपैयाँ कायम भएको छ।