कर्मचारी सरुवामा ‘भनसुन’ अन्त्य गर्न विधेयक ल्याइएको हो : मन्त्री न्यौपाने

काठमाडौं, २ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवामा व्याप्त भनसुन र मनपरी तन्त्रलाई अन्त्य गर्न सङ्घीय निजामती सेवा विधेयक ल्याइएको बताउनुभएको छ।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा बोल्दै उहाँले विधेयकले सरुवा प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउने विश्वास व्यक्त गर्नुभयो।

“अब कर्मचारीको सरुवा भनसुन र अनुमानको आधारमा होइन, प्रणालीगत र व्यवस्थित हुनुपर्छ। यो विधेयकले त्यही सुनिश्चित गर्ने लक्ष्य राखेको छ,” मन्त्री न्यौपानेले भन्नुभयो। उहाँले सरुवा–बढुवालाई अनुमानयोग्य बनाउन विधेयकलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो।

विधेयकको उद्देश्य केवल सरुवा प्रणाली सुधारमा मात्र सीमित नरहेको उहाँले स्पष्ट पार्नुभयो। “यो विधेयक प्रभावकारी सेवा प्रवाह र सङ्घीयताको सफल कार्यान्वयनका लागि पनि एक महत्त्वपूर्ण दस्तावेज हो,” मन्त्री न्यौपानेले भन्नुभयो।

उल्लेखनीय छ, प्रतिनिधिसभाबाट पारित भइसकेको यो विधेयकमाथि थप छलफलका लागि राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको हो। हाल समितिमा विधेयकका १९३ वटा बुँदामाथि सांसदहरूका १६ वटा समूहले संशोधन प्रस्ताव दर्ता गराएका छन् र सोही विषयमा छलफल चलिरहेको छ।