दमकको पशुडाँडामा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

दमक, ३ भदौ । झापाको दमकमा आज बिहान भएको सडक दुर्घटनामा एक महिलाकाे मृत्यु भएको छ । ट्रकको ठक्करबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको हाे भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

कमल गाउँपालिका–५ निवासी ४३ वर्षीय सुकदेव गौतमले चलाएको प्र१–०१–०१२प ९३१२ नम्बरको मोटरसाइकललाई दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोभी बोकेको प्र१–०२–००२ख ०९१२ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी उनकी ४२ वर्षीया श्रीमती मुना गौतमले ज्यान गुमाइन् । घाइते श्रीमान् सुकदेवको दमक अस्पतालमा उपचार जारी छ ।

इलाका प्रहरी कार्यालय दमकले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।