उच्च पदमा पुगेका व्यक्ति फेरि राजनीतिमा आउनु शोभनीय हुँदैन : महासचिव पोखरेल

सिन्धुपाल्चोक, ३ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रपतिजस्तो राज्यको सर्वोच्च पदमा पुगिसकेका व्यक्तिहरू पुनः सक्रिय दलीय राजनीतिमा फर्कनु उपयुक्त नहुने बताउनुभएको छ ।
सिन्धुपाल्चोकमा आज आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
“राज्यको सर्वोच्च र सम्मानित पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्कनु राम्रो हुँदैन भन्नेमा हाम्रो पार्टी स्पष्ट छ,” महासचिव पोखरेलले भन्नुभयो । उहाँले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्तिहरू लागिपरेको दाबी गर्दै सम्पूर्ण नेता–कार्यकर्तालाई एकताबद्ध भएर संगठन निर्माणमा जुट्न आह्वान गर्नुभयो । साथै, उहाँले ७० वर्ष उमेर कटेका नेताले नेतृत्व गर्न नपाउने भन्ने बहसलाई अनावश्यक भ्रमको संज्ञा दिनुभयो ।
एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङका अनुसार, जिल्लाभरबाट ७४५ भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थितिमा सम्पन्न बैठकले १० बुँदे ‘मेलम्ची घोषणापत्र’ समेत जारी गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र नेता शेरबहादुर तामाङ लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।