डिशहोम र इला होटलबीच साझेदारी, ग्राहकले पाउनेछन् १५ प्रतिशत छुट
काठमाडौं, ४ भदाै । डिशहोमले आफ्ना ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्न आइएमई हस्पिटालिटीद्वारा सञ्चालित इला होटल एण्ड रिसोर्ट्ससँग साझेदारी गरेको छ।
यो साझेदारी अन्तर्गत, डिशहोमका सक्रिय ग्राहकहरूले इला होटलको खाना, पेय पदार्थ र आवासमा १५ प्रतिशत छुट पाउनेछन्।
यो सुविधा लिनका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा ‘माई डिशहोम’ एपमार्फत ‘भर्चुअल प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ। यो अफर इला होटलका तीनवटै शाखाहरू— मौलाकाली, बागलुङ र गैँडाकोट (हरकपुर) मा लागू हुने कम्पनीले जनाएको छ।
साझेदारी सम्झौतामा इला होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न अधिकारी र डिशहोमका प्रमुख, न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेशन अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन्।
डिशहोमका सीईओ तारा मानन्धरले यस साझेदारीले ग्राहकहरूको जीवनशैलीमा थप मूल्य जोड्ने र नेपालभर उत्कृष्ट आतिथ्य सेवामा पहुँच पुर्याउने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार, डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूलाई भोजन, आतिथ्य, यात्रा र जीवनशैली सम्बन्धी क्षेत्रमा विभिन्न छुट तथा सुविधाहरू प्रदान गर्दै आएको छ।