मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे : उपाध्यक्ष पोखरेल
काठमाडौँ, ५ भदौ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका कार्यक्रमहरूलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको बताउनुभएको छ ।
काठमाडौँको थापागाउँमा बिहीबार आयोजित एक कार्यक्रममा उहाँले मदन भण्डारी फाउण्डेसनद्वारा गठित आयोजक समितिको कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउने सिलसिलामा फाउण्डेसनद्वारा गठित आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्न यो कार्यालय स्थापना गरेको हो ।”
उहाँले भण्डारीका विचार र ऐतिहासिक भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ काम अघि बढाइने बताउनुभयो । सो क्रममा उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विचारको नेतृत्व लिएर अघि बढ्दा मदन भण्डारी फाउण्डेसनले महत्त्वपूर्ण सहयोगी भूमिका खेलेको स्मरण गर्नुभयो ।