नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता हरिप्रसाद कँडेल पक्राउ

काठमाडाैं, ६ भदाै । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन्।

रास्वपाका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका कँडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो।

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार चितवनको कालिका नगरपालिका–५ पदमपुर निवासी कँडेललाई बुधबार चितवनबाटै पक्राउ गरी अनुसन्धानका लागि रुपन्देही ल्याइएको हो। एसपी क्षेत्रीले कँडेलमाथि नक्कली प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।

यो प्रकरणमा प्रहरीले यसअघि नै भारत कानपुरका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरिसकेको छ। गत साउन ३० गते बेलहिया बसपार्कस्थित एक होटलबाट यादवलाई त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रको ठूलो परिमाणसहित पक्राउ गरिएको थियो।

प्रहरीले यादवको बयानका आधारमा कँडेलको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको जनाएकाे छ ।