शिक्षा र भूमिसम्बन्धी विधेयकका प्रतिवेदन प्रतिनिधिसभामा पेश
काठमाडौं, ६ भदौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दुई महत्त्वपूर्ण समितिका प्रतिवेदन पेश भएका छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेका विधेयकसम्बन्धी प्रतिवेदनहरू सदनमा पेश गरिएका हुन्।
शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले लामो समयदेखि प्रतिक्षारत ‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदन पेश गर्नुभयो। समितिबाट पारित प्रतिवेदनमा विद्यार्थीको आन्तरिक मूल्याङ्कनमा ६० अङ्क शिक्षक आफैँले प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, विद्यालय कर्मचारीको तलब स्थानीय तहको कानुनबमोजिम निर्धारण हुने तर त्यो सङ्घीय कानुनले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम हुन नहुने प्रावधान राखिएको सभापति थापाले जानकारी दिनुभयो।
त्यसैगरी, कृषि समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नुभयो।
दुवै विधेयकका प्रतिवेदनहरू सम्बन्धित समितिहरूले बिहीबार पारित गरेपछि आज सदनमा पेश गरिएका हुन्।