रौतहटमा सडकमा फ्याँकिएको सुटकेसभित्र महिलाको शव फेला: अनुसन्धान तीव्र, पहिचान हुन बाँकी

रौतहट, ८ भदौ । रौतहटको गौरमा सडक किनारमा फ्याँकिएको एक सुटकेसभित्र महिलाको शव फेला परेको छ।

गौर नगरपालिका–९, मुडवलवा गेट नजिकै शनिबार राति बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आज बिहान जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी राजन कार्की नेतृत्वको टोलीले उक्त सुटकेस खोल्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो। शव सुटकेसभित्र खाँदेर राखिएको अवस्थामा थियो।

मृतक महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाएको छ। घटनाको अनुसन्धानलाई तीव्र पार्दै प्रहरीले घटनास्थल नजिकैको एक विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेजको विश्लेषण गरिरहेको डीएसपी कार्कीले जानकारी दिनुभयो।

यो साता मात्रै रौतहटमा फेला परेको यो तेस्रो शव हो। यसअघि गौरकै एक लजमा सप्तरीका उपेन्द्र भगत मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मियाँको छुरा प्रहार गरी हत्या गरिएको थियो। लगातारका यी आपराधिक घटनाले स्थानीय बासिन्दामा त्रास बढाएको छ भने प्रहरी प्रशासनलाई अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न थप चुनौती सिर्जना भएको छ।