झापामा किशोरीमाथि यौन दुर्व्यवहारको प्रयास, दुई वृद्ध पक्राउ
झापा, ९ भदौ । झापाको कचनकवल गाउँपालिकामा एक १७ वर्षीया किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक ७१ वर्षीय र अर्का ५५ वर्षीय पुरुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, पक्राउ पर्नेहरूमा स्थानीय ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ छन् । उनीहरूमाथि गत भदौ ५ गते साँझ करिब ६ बजे स्थानीय पाथीभरा सामुदायिक वनमा किशोरीलाई डरत्रास देखाई तथा ललाइफकाई करणी गर्न खोजेको अभियोग छ ।
घटनाबारे पीडित पक्षले भदौ ८ गते प्रहरीलाई जानकारी गराएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरिएको बताउनुभयो ।