आज हरितालिका तीज, पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै चारै ढोका खुल्ला
काठमाडौँ, १० भदौ । हरितालिका (तीज) पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सुविधाका लागि बिहान ३ बजेदेखि नै चारवटै ढोका खुला गरिएको छ। पशुपति क्षेत्र विकास कोषले विशेषगरी महिला भक्तजनहरूको सहजतालाई ध्यानमा राख्दै यो व्यवस्था गरेको हो।
कोषका निमित्त सदस्य-सचिव सुभाषचन्द्र जोशीका अनुसार, दर्शनलाई सहज र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। यसका लागि सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, जुत्ता-चप्पल राख्ने स्थान, आकस्मिक स्वास्थ्य सेवा, र चन्दन-प्रसाद वितरणको चुस्त व्यवस्था मिलाइएको छ। साथै, व्रतालुहरूका लागि गौदान गर्ने स्थान र भजन-कीर्तनको पनि प्रबन्ध गरिएको छ।
यस वर्ष दर्शनका लागि चारवटा मुख्य लाइनकाे व्यवस्था गरिएको छ:
पहिलो लाइन: गौरीघाट–उमाकुण्ड हुँदै उत्तरढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिरिने।
दोस्रो लाइन मित्रपार्क–जयबागेश्वरीबाट आउने भक्तजनहरू फलामे पुल पश्चिमको सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिरिने।
तेस्रो लाइन पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकातर्फबाट प्रवेश गरी सोही ढोकाबाट बाहिरिने।
चौथो लाइन तिलगङ्गा–राम मन्दिरतर्फबाट वाग्मती किनारैकिनार आर्यघाट नजिकको पुल तरेर पूर्वी ढोकाबाट प्रवेश गर्ने र सोही ढोकाबाट बाहिरिने।
मन्दिर प्राङ्गणभित्र भने आठवटा लाइनमार्फत दर्शनको व्यवस्था मिलाइनेछ। श्रीयन्त्र पूजाको समयमा पनि भक्तजनले बाहिरबाटै दर्शन गर्न पाउने गरी जाली लगाइनेछ।
कोषले भक्तजनहरूलाई बहुमूल्य गरगहना नलगाउन र साना बालबालिकालाई साथमा नल्याउन आग्रह गरेको छ। कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले यस वर्ष दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको स्पष्ट पार्नुभयो। नित्य दर्शनार्थीहरूले भने बिहान ५:३० बजेसम्म कुनै पनि ढोकाबाट प्रवेश गर्न सक्नेछन्।