झापामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी

झापा, १० भदौ । झापा जिल्लामा नेपाली नागरिकताको प्रमाणपत्र लिनेभन्दा राहदानी (पासपोर्ट) बनाउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार, गत साउन महिनामा मात्रै राहदानी लिनेको सङ्ख्या नागरिकता लिनेभन्दा झन्डै दोब्बर रहेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार, साउनमा १,२८९ जनालाई नागरिकता वितरण गर्दा २,३३३ जनालाई राहदानी जारी गरिएको छ। यो प्रवृत्ति गत आर्थिक वर्षको समग्र तथ्याङ्कमा पनि देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट २२,७७७ जनाले नागरिकता प्राप्त गर्दा ३३,२२४ जनाले राहदानी बनाएका थिए, जुन १०,४४७ ले बढी हो।

यसैबीच, जिल्लामा नागरिकता र राहदानी दुवैभन्दा राष्ट्रिय परिचयपत्र लिनेको सङ्ख्या अझ धेरै रहेको पाइएको छ। साउन महिनामा मात्र ५,७६७ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको थियो। निरौलाका अनुसार, हालसम्म झापामा तीन लाख ६० हजार ७७२ जनाले राष्ट्रिय परिचयपत्र लिइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *