देवघाटस्थित त्रिशूली नदीमा पौडी खेल्दा एक किशोर बेपत्ता, अर्काको सकुशल उद्धार

काठमाडौँ, भदौ १० । तनहुँको देवघाट गाउँपालिका–५, बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा सोमबार साँझ एक किशोर बेपत्ता भएका छन् भने उनीसँगै गएका एक बालकको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, चितवनको भरतपुर महानगरपालिका–१६, मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने नदीमा बगेर बेपत्ता भएका हुन् । उनीसँगै पौडी खेल्न गएका भरतपुर–१५, फूलबारीका १३ वर्षीय कुशल ढकाललाई भने स्थानीय सोमबहादुर बोटेले उद्धार गर्न सफल भएका छन् । 

प्रहरी नायब उपरीक्षक अशोक थापाले बेपत्ता किशोर लामिछानेको खोजी कार्यका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र चितवनको आँपटारीस्थित १७ नम्बर गणबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता किशोरको खोजी गरिरहेको छ, तर हालसम्म फेला पार्न सकिएको छैन ।