जापान र इजरायल पठाउने भन्दै लाखौं ठग्ने दुई जना पक्राउ

काठमाडौँ, १० भदौ । वैदेशिक रोजगारीका लागि जापान र इजरायल पठाइदिने आश्वासन दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जा, पुतलीबजार नगरपालिका-१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका-१५ निवासी ५० वर्षीय योगेन्द्र घले रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार, ताम्राकारले एक व्यक्तिलाई इजरायल पठाउने प्रलोभनमा पारी १२ लाख रुपैयाँ लिएका थिए। त्यस्तै, घलेले जापान पठाउने बहानामा अर्का पीडितबाट ६ लाख रुपैयाँ असुलेका थिए। रकम हात पारेपछि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले ताम्राकारलाई आइतबार काठमाडौँ-९ बाट र घलेलाई सोमबार काठमाडौँ-१० बाट पक्राउ गरेकाे थियाे ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *