सर्याे एमाले केन्द्रीय कमिटी बैठक, छिट्टै नयाँ मिति तय गरिने

काठमाडौँ, १० भदाै । नेकपा (एमाले) ले भदौ १३ गतेका लागि तय गरेको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ। दोस्रो विधान महाधिवेशनको तयारीका लागि बोलाइएको बैठक तयारी अपुग भएको भन्दै सारिएको हो।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको तयारीका लागि थप समय आवश्यक परेकाले हाललाई स्थगित गरिएको र छिट्टै नयाँ मिति तय गरिने जानकारी दिनुभयो।
उक्त बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची थियो। एमालेले विधानमा गर्नुपर्ने संशोधनबारे सुझाव दिन मातहतका कमिटीहरूलाई आजसम्मको समय दिएको थियो। ती सुझावहरूलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी थियो।
एमालेले आफ्नो दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गर्दैछ, जसमा करिब २,४०० प्रतिनिधिको सहभागिता रहनेछ।