मोरङ कारागारको शौचालयमा महिला कैदी मृत फेला

काठमाडौँ, भदौ ११ । जिल्ला कारागार मोरङको महिला सेलमा रहेको शौचालयमा एक महिला कैदीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । बुधवार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) मृत अवस्थामा भेटिएकी हुन् ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार, भट्टराईलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
भट्टराईले यसअघि आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् । त्यस क्रममा उनको र एक सन्तानको उद्धार गरिएको थियो भने अर्का एक सन्तानको मृत्यु भएको थियो । सोही घटनाका कारण उनीमाथि कर्तव्यज्यान मुद्दा चलाइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।