फेसबुकमा हत्या स्वीकार्दै भने– ‘रुबी मरिन्, म बाँचेर के गर्नु’, त्यसपछि आफ्नै शरीरमा आगो लगाए

जनकपुरधाम, ११ भदौ । रौतहटकी रुबी साहको हत्याका मुख्य आरोपी लक्ष्मण पासवानले आत्महत्याको प्रयास गरेका छन्। आफ्नो शरीरमा आगो लगाउनुअघि उनले फेसबुकमा एक भिडियो पोस्ट गर्दै हत्या आफैँले गरेको स्वीकार गरेका हुन्।

उक्त भिडियोमा उनले रुबीको हत्यापछि आफू मानसिक रूपमा विक्षिप्त भएको र हात काँपिरहेको बताएका छन्। “‘मेरो जान मरिसकेकी छन्, म बाँचेर के गर्नु,’ उनले भिडियोमा भनेका छन्, ‘पक्राउ परे १०–१५ वर्ष जेल जानुपर्छ।’”

पासवानले भिडियोमा आफूहरूको स्कुले जीवनदेखिको प्रेम सम्बन्ध र अदालतमा भएको विवाहबारे पनि खुलासा गरेका छन्। गरिबी र पारिवारिक तनावका कारण हत्या गर्न बाध्य भएको उनको दाबी छ। हत्याअघि रुबी र आफूबीच एकअर्काविना बाँच्न नसक्ने कुराकानी भएको र एकले अर्कालाई मार्न भनेको समेत उनले भिडियोमा उल्लेख गरेका छन्।

गत शनिबार राति गौर नगरपालिका–९ स्थित सडकमा फ्याँकिएको सुटकेशभित्र २६ वर्षीया रुबी साहको शव फेला परेको थियो। भारतमा विवाह भएकी तर माइती पक्षकै टोलमा बस्ने लक्ष्मणसँग प्रेम सम्बन्धमा रहेकी उनी गौरमा कोठा भाडामा लिएर आफ्नो ४ वर्षीय छोरालाई पढाउँदै आएकी थिइन्।

हत्याका मुख्य आरोपी पासवान आज बिहान माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक शरीरमा आगो लगाएर जलेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *