उत्पादन आधाले घट्दा अण्डाको मूल्य बढ्यो, प्रतिगोटा २३ रुपैयाँ पुग्यो

चितवन, १० भदौ । बजारमा अण्डाको उत्पादनमा भारी गिरावट आएपछि मूल्य बढेको छ। चाडपर्व नजिकिँदै गर्दा माग बढेको तर उत्पादन घटेकाले नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको नयाँ समर्थन मूल्य तोकेको हो।

सङ्घका अनुसार, आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु. ५४५ र मझौलाको रु. ५३० कायम गरिएको छ। यससँगै अब उपभोक्ताले खुद्रा बजारमा प्रतिगोटा अण्डाको मूल्य २३ रुपैयाँ तिर्नुपर्नेछ।

लामो समयदेखि लागत मूल्य पनि नपाएका किसानले भने केही राहत महसुस गरेका छन्। हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १६.५६ रुपैयाँ रहेकोमा नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको १८.१६ रुपैयाँ पाउनेछन्।

सङ्घका पूर्व अध्यक्ष त्रिलोचन कँडेलका अनुसार, दैनिक ४० लाख गोटा उत्पादन हुँदै आएको अण्डा अहिले घटेर २२ लाखमा झरेको छ। लगातारको घाटाका कारण धेरै किसानहरू व्यवसायबाटै विस्थापित भएकाले उत्पादनमा भारी गिरावट आएको हो।