भारतीय पर्यटकले ५ हजार डलर बराबरको भारु बोक्न पाउने, सीमावर्ती पर्यटनमा उत्साह
पर्सा, ११ भदौ । नेपाल राष्ट्र बैंकले भारतीय पर्यटकहरूलाई नेपाल भ्रमणमा आउँदा नगद ल्याउन पाउने सीमामा उल्लेख्य वृद्धि गरेको छ।
यसअघि २५ हजार भारतीय रुपैयाँ मात्रै ल्याउन पाउने व्यवस्थालाई हटाउँदै अब उनीहरूले भन्सार घोषणाबिनै ५ हजार अमेरिकी डलर बराबरको भारु बोक्न पाउनेछन्।
सरकारको यो निर्णयले विशेषगरी वीरगञ्जजस्ता सीमावर्ती सहरका पर्यटन व्यवसायी उत्साहित भएका छन्।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नै यो घोषणा गरेको थियो, जसलाई नेपाल राष्ट्र बैंकले भदौ १० गते सूचना जारी गरी औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो।
होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तले नगदको सीमितताका कारण भारतीय पर्यटकले चाहेजति खर्च गर्न नपाउने अवस्थाको अन्त्य भएको बताउनुभयो। उहाँले यसले पर्यटकको बसाइ लम्ब्याउन र यहाँको पर्यटन व्यवसायलाई थप चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। वीरगञ्जको पर्यटन क्षेत्र भारतीय पर्यटकमा धेरै हदसम्म निर्भर रहँदै आएको छ।