पशुपतिमा शवको हड्डी किनबेच प्रकरणमा ४ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं, १२ भदौ । पशुपति आर्यघाटमा शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
मुद्दा दर्ता हुनेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको वलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् । उनीहरूविरुद्ध धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको हो ।
न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा उनीहरूको बयान लिइएको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ, जसपश्चात् पुर्पक्षका लागि कारागार पठाउने, साधारण तारेख वा धरौटीमा छाड्नेमध्ये एक आदेश आउनेछ ।
गत साउन २३ गते राम शाहीको निधनपछि सद्गदका लागि पशुपति लगिएको थियो । आर्यघाट सेवा केन्द्रबाट जीवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली सद्गदका लागि खटिएका थिए ।
प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार, आधा शव जल्दै गरेको अवस्थामा जीवनाथले टाउकाको हड्डी निकालेर विनायकलाई दिएका थिए । विनायकले उक्त हड्डी कपुरको बट्टामा हालेर रामनन्दन र उनका सहयोगी मिश्रीलाललाई बेचेको आरोप छ ।
उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १५७ (१) अन्तर्गत धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । यो दफाले सनातनदेखि अपनाउँदै वा चली आएको धार्मिक रीति–स्थितिमा जानी जानी बाधा पुर्याउन नहुने उल्लेख गर्दछ । यस्तो कार्य गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।