सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ, भदौ १३ । सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षातर्फबाट सर्लाहीको मलंगवातर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका किशन महरालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा किशनले आफूसँग भएको हतियार श्याम महरालाई राख्न दिएको बताएका थिए। उनको बयानका आधारमा श्यामलाई समेत नियन्त्रणमा लिई बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरबाट नलकटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, दुवैजनामाथि हातहतियार तथा खरखजाना मुद्दामा बिहीबार सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।