नेपालमा मनसुन थप सक्रिय: सुर्खेतमा मुसलधारे वर्षा, केही स्थानमा अति भारी वर्षा

काठमाडौँ, १३ भदौ । पछिल्लो केही दिनयता नेपालमा मनसुन थप सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ। सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा २९२.३ मिलिमिटर अर्थात् मुसलधारे वर्षा रेकर्ड गरिएको छ, जुन देशभरिमा सबैभन्दा बढी हो।

विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिमी क्षेत्रका केही सीमित केन्द्रहरूमा खण्डित रूपमा बढी वर्षा भएको बताउनुभयो।

पर्वतको पञ्चासेमा पनि १७९.३ मिलिमिटर (धेरै भारी वर्षा) र बाँकेमा १४६.३ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, दाङमा १३८, दार्चुलामा १०७ र सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। १२ भन्दा बढी स्टेशनमा ८० देखि १०० मिलिमिटरको बीचमा तथा धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा रेकर्ड भएको छ।

मौसमविद् मानन्धरका अनुसार, आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने सम्भावना छ भने भोलि केही कम हुनेछ। स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वी क्षेत्रमा बङ्गालको खाडीबाट आएको प्रणालीको असर रहेको विभागले जनाएको छ।

हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनको प्रभाव बढी देखिएको छ, भने मौसमी बदली देशभरि नै रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ र पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित छ।

हाल देशभरि सामान्यतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।