रास्वपा नेता अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता, बयान सुरु

काठमाडौं, १३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
हाल न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ, जसपश्चात् उनलाई पुर्पक्षका लागि कारागार पठाउने, साधारण तारेख वा धरौटीमा छाड्नेबारे आदेश आउनेछ। आजै थुनछेक बहस सकिने सम्भावना रहेको स्रोतले जनाएको छ।
बुधबार साँझ प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाँडेलाई भोटाहिटीबाट पक्राउ गरेको थियो। बिहीबार अदालतले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।