सदनलाई लयमा फर्काउन विपक्षी दललाई सभामुख घिमिरेको अपील

काठमाडौं, १३ भदाै । सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा सदनमा विपक्षीदलकाे जारी अवरोधप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधिसभाको बैठकको सुरुवातमै उहाँले आन्दोलनरत दल र सरकारबीच सदनको अवरोध हटाउनका लागि आवश्यक छलफल र संवाद नभएकोमा असन्तुष्टि जनाउनुभयो।

सभामुख घिमिरेले आफूले सहमतिका लागि हरसम्भव प्रयास गरेको बताउँदै भन्नुभयो, “यसरी बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति लोकतान्त्रिक प्रणाली तथा संसदीय अभ्यासका लागि दीर्घकालीन रूपमा हानिकारक साबित हुन सक्छ। हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ। संसद केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइन, राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो।”

उहाँले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने प्रक्रियामा रहेको बताउनुभयो। “यी विधेयकहरूमा सबै माननीयज्यूहरूको गम्भीर र रचनात्मक बहस अपरिहार्य छ,” उहाँले भन्नुभयो।

सभामुखले आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्ने समय लिनुभएको जानकारी गराउँदै सबै माननीयज्यूहरूलाई बैठकमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहेका दलहरू तथा सबै सांसदहरूलाई संवादको वातावरण सिर्जना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउनका लागि जिम्मेवार बनिदिन हार्दिक अपील गर्नुभयो।