सार्वजनिक जग्गा व्यक्तिको नाममा पारेको आरोपमा नापी अधिकृतविरुद्ध झन्डै ६ करोडको भ्रष्टाचार मुद्दा, गैरकानुनी सम्पत्ति श्रीमती र छाेराहरूकाे नाममा

काठमाडौँ, १३ भदाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

रूपन्देहीमा कार्यरत रहँदा पदको दुरुपयोग गरेको भन्दै अख्तियारले उनीविरुद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

यादवले निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा विभिन्न व्यक्तिलाई प्रभावमा पारी सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा दर्ता गराएको अख्तियारको आरोप छ।

अख्तियारले यादवको २०५३ देखि २०८१ असारसम्मको आय-व्यय अनुसन्धान गर्दा उनको कुल खर्च तथा लगानी १४ करोड ८३ लाखभन्दा बढी देखिएको थियो। तर, सोही अवधिमा उनको वैध आय भने ९ करोड ३ लाख मात्रै पुष्टि भएको थियो। स्रोत नखुलेको बाँकी रकम भ्रष्टाचार गरी कमाएको अख्तियारको ठहर छ।

यादवले गैरकानुनी रूपमा कमाएको सम्पत्ति श्रीमती गायत्री यादव तथा छोराहरू सुधान्सु र शुभमको नाममा लुकाएर राखेको पाइएकोले अख्तियारले उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *