कैलालीमा ४ किलोभन्दा बढी चरेस र हिरोइनसहित पाँच जना पक्राउ

कैलाली, १४ भदौ । कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणको लागुऔषध चरेस र खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीको लागुऔषध ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले चलाएको अपरेसनमा ४ किलो ६९० ग्राम चरेस र ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइन बरामद भएको हो।

धनगढीको एक होटलबाट प्रहरीले ४ किलो ६९० ग्राम चरेससहित सञ्चालकलाई पक्राउ गरेको छ। बझाङ घर भई धनगढी-२ मा ‘जयराम होटल एण्ड लज’ सञ्चालन गर्दै आएका ३२ वर्षीय राम बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले खैरो हिरोइनसहित अन्य चार जनालाई पनि विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
डोटीका ३५ वर्षीय वीरबहादुर रावललाई २ ग्राम ७६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको छ। चुरे गाउँपालिकाका ३२ वर्षीय मोहन मल्ललाई मोबाइलको खोलमा लुकाएको ५९० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको छ।
त्यसैगरी, धनगढी-१२ का २३ वर्षीय विजय विक र उनको मोटरसाइकलमा सवार २२ वर्षीय प्रदीप रानालाई ७४० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको छ।