परीक्षा केन्द्रमा बमको हल्ला फैलाउने एक जना पक्राउ

काठमाडौँ, भदौ १५ । काठमाडौंको कुलेश्वरस्थित जनमैत्री माध्यमिक विद्यालयको एक परीक्षा केन्द्रमा बम रहेको भन्दै अफवाह फैलाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार कुलेश्वरको जनमैत्री माविमा बम राखिएको भनेर गलत सूचना फैलाउने महोत्तरी घर भई कीर्तिपुर बस्दै आएका ३८ वर्षीय जयरूद्र झालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

झा आफैंले प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर बम रहेको भन्दै सूचना दिएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरीको टोली तालिम प्राप्त कुकुर र बम डिस्पोजल टोलीसहित घटनास्थलमा खटिएको थियो । तर, सूचना दिएपछि झाको मोबाइल बन्द थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा उनलाई कीर्तिपुर नयाँ बजारबाट नियन्त्रणमा लिएको हो ।

जयरूद्र झाले जनमैत्री माविमा मास्टर्स इन पब्लिक एड्मिनिस्ट्रेसनको परीक्षा दिँदै थिए । एसपी आचार्यका अनुसार, झा आफैं पनि परीक्षा दिने विद्यार्थी रहेछन् र उनको साथबाट परीक्षाको प्रश्नपत्र पनि बरामद भएको छ ।

सुरुमा उनले कसैले आफ्नो फोन खोसेर गलत सूचना दिएको बताए पनि पछि भने परीक्षाको तनावका कारण आफूले नै गलत सूचना दिएको स्वीकार गरेका छन् । पक्राउ परेका झामाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *