अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच शिष्टाचार भेटघाट

काठमाडौँ, १७ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।
भेटका क्रममा दुई पक्षबीच नेपालको समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
अर्थमन्त्री पौडेलले भेटमा गत वर्षको तुलनामा नेपालको अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै नेपालले नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताउनुभयो। उहाँले विश्व बैंकले आगामी छ वर्षका लागि तयार पारेको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ नेपालको विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको भन्दै सो फ्रेमवर्कअनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो।
यसैगरी, अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा छलफलमा रहेको जानकारी गराउनुभयो। विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने योजना रहेको बताउँदै उहाँले विधेयकको लक्ष्यअनुसार अघि बढ्न विश्व बैंकबाट सहयोगको अपेक्षा गर्नुभयो।
विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विश्व बैंकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने बताउनुभयो। उपाध्यक्ष जुटले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरूमा सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताउनुभयो। उहाँले वैकल्पिक विकास वित्त परिचालन कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरू पहिचान हुनसक्ने विश्वास व्यक्त गर्दै यसले निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताउनुभयो। उपाध्यक्ष जुटले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि नेपाललाई सुझाव दिनुभयो।