शरीर बन्धक गर्ने कार्यमा संलग्नलाई तीन दिन म्याद थप

काठमाडौँ, भदौ १७ । काठमाडौँ जिल्ला अदालतले अपहरण तथा शरीर बन्धकको अभियोगमा पक्राउ परेका तीन जनालाई अनुसन्धानका लागि प्रहरीलाई तीन दिनको म्याद थपको अनुमति दिएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका–१ साङ्लाका ४१ वर्षीय विराजसिंह लवट खत्री, सोही ठाउँका ४४ वर्षीय राजलवट खत्री र तारकेश्वर नगरपालिका–७ फुटुङका ३९ वर्षीय सन्तोष महर्जन रहेका छन्, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

बोहराले भन्नुभयो, “सोमबार दिउँसो तारकेश्वर नगरपालिका–१ मा अपरिचित व्यक्तिहरू प्रवेश गरी एक व्यक्तिलाई लिएर गएको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त बालाजुबाट खटिएको टोलीले उक्त घरबाट मोबाइल अफ गरी राखिएको अवस्थामा ती व्यक्तिलाई फेला पारी उद्धार गरेको हो। यस कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ ।” उनीहरूको आज तीन दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।

गाँजासहित भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय मत्र पथ्रत अली अकबर रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो, “एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौँ आएका निजलाई जाँच गर्ने क्रममा निजको लगेजबाट करिब एक किलो ७८० ग्राम लागूऔषध गाँजा फेला पारी पक्राउ गरिएको हो ।”

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्युरो पठाइएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *