युएई पठाइदिने प्रलोभन देखाई ठगी गर्ने एक जना काठमाडौँमा पक्राउ
काठमाडौँ, भदौ १७ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको लोभ देखाई युएई पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्युठान नौबहिनी गाउँपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
मिनराजले दुई जना पीडितहरूलाई युएई पठाइदिने आश्वासन दिएर २ लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो । सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका राना क्षेत्रीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।