सिरहाको गोलबजारमा स्कुल बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

काठमाडौँ, भदौ २० । सिरहाको गोलबजार नगरपालिका-२, टुड्किया सैनिक चोकमा आज एक स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा सोही विद्यालयको ‘प्ले ग्रुप’ मा अध्ययनरत स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, ग१ख ३७८८ नम्बरको बसले विद्यालयबाट घर फर्किने क्रममा आदर्शलाई किचेको थियो । टाउकोमा गम्भीर चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि बसका चालक, गोलबजार नगरपालिका–३ का विमल भुजेल फरार भएका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको छ । मृतक बालकको शवको कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि रामकुमार स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न बसलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, घटनाको थप अनुसन्धानका लागि ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक तथा प्रधानाध्यापक दिलीप बुढाथोकीलाई प्रहरीले हिरासतमा लिई सोधपुछ गरिरहेको छ ।