डिल्लीबजार कारागारमा आगाे लगाएर कैदीहरू भाग्ने प्रयास गरेपछि सेनाले घेरा हाल्याे

काठमाडौं, २५ भदाै । डिल्ली बजार कारागारबाट पनि कैदीहरु भाग्ने प्रयास गरेका छन् ।

जेनजीको आन्दोलनले देशभरका कारागारबाट कैदीबन्दीहरू भाग्ने लहर चलेसँगै काठमाडौंकाे डिल्लीबजार कारागारबाट पनि कैदीबन्दीहरुले भाग्ने प्रयास गरेका हुन् ।

कैदीबन्दीहरु कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ । उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको हाे ।

जेनजीको आन्दोलनकै क्रममा रास्वपा सभापति रवि लामछानेलाई नख्खु कारागारबाट निकालेपछि सबैतिरबाट बन्दीहरू भाग्न थालेका छन् ।

डिल्लीबजार कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेपनि बाहिर सेनाले घेरा हालेर सुरक्षा दिइरहेकाे छ ।