लागूऔषध कारोबारको अभियोगमा खरेल पक्राउ

काठमाडौँ, भदौ २८ । प्रहरीको खोजी सूचीमा रहेका लागूऔषध कारोबारी भानुभक्त खरेललाई बिर्तामोडबाट पक्राउ गरिएको छ । बिर्तामोड नगरपालिका-५ का खरेललाई आज नयाँबसपार्क क्षेत्रबाट स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार लामो समयदेखि फरार रहेका खरेल गत साउन १ गते बिर्तामोड-५ मङ्गलदीप टोलस्थित गोदाममा छापामारेपछि पुनः फरार भएका थिए । सो क्रममा प्रहरीले उनले सञ्चालन गरेको गोदामबाट अवैध रूपमा लुकाएर राखिएको ट्याब्लेट र एम्पुलसहित ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो ।
प्रहरीले यसअघि खरेलका दुई जना सहयोगीलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइसकेको छ । प्रहरी उपरीक्षक लिम्बूले बिर्तामोड–५ कञ्चन टोलबाट खरेलका साझेदार भनिएका ४६ वर्षीय राजेन्द्र पन्धाकलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकिएको जानकारी दिनुभयो । पन्धाकको घरको सिँढीमुनि राखिएको कागजको कार्टुनमा लुकाइएका २० हजार क्याप्सुल ट्रामाडोल प्रहरीले बरामद गरेको थियो ।
खरेलका कर्मचारी अर्जुनधारा-६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक लिम्बूले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको छ।