पार्टी परित्यागको घोषणा गर्दै रेशम चौधरीले छाडे नाउपा, अब अर्को पार्टी खोल्ने

काठमाडाैं, २९ भदाै । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी छाडेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रत्यक्षरूपमा आफ्नो धारणा राख्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन। यो पार्टी २०७८ पुसमा खुलेको थियो।

टीकापुर घटनामा दोषी ठहर भई आजीवन काराबासमा रहेका बेला उनले जेलभित्रै नाउपा गठन गरेका थिए। आफू संरक्षक बसेर उनले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए।

संघ–प्रदेशमा गरी नाउपाका ११ सांसद थिए। नाउपाको सुदूरपश्चिम, लुम्बिनी र मधेसमा प्रतिनिधित्व छ। संघमा चार जना सांसद थिए।

अलग अभियानको घोषणा गर्दै उनले भने, आजबाट म नाउपाबाट अलग भएको घोषणा गर्दछु। उन्मुक्ति पार्टीमा म आजबाट हुन्न। मसँगै मेरा भावना, मेरो आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।

राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाइ बाहिर आएपछि उनी र पत्नी रञ्जिताबीच बेमेल देखिएको थियो। उनले २०८० पुस मा पहिलो महाधिवेशन गरेर आफूलाई अध्यक्ष पनि निर्वाचित गरेका थिए। तर निर्वाचन आयोगले वैधता दिएन।

त्यसपछि उनले २०८२ साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी रञ्जितलाई अध्यक्षबाट हटाएर पिता लालवीरलाई अध्यक्ष बनाएका थिए। त्यसलाई पनि निर्वाचन आयोगले वैधता दिएन। लालवीर नाउपाको संस्थापक २१ जनामध्ये थिएनन्। साथै अध्यक्षले मात्रै बोलाउन पाउने राष्ट्रिय भेला अरूले बोलाएको भन्दै निर्वाचन आयोगले त्यसलाई पनि अवैध भनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *