कोरला नाकाबाट सय बढी विद्युतीय सवारी साधन भित्रिए, ५०० भित्र्याउने लक्ष्य

काठमाडौँ, भदौ ३० । मुस्ताङको लोमान्थाङस्थित कोरला नाकाबाट १०० भन्दा बढी विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको स्वीकृतिपछि चीनबाट ल्याइएका ती सवारी साधन हाल न्हेचुङस्थित भन्सार कार्यालयमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरला नाकाबाट बीवाइडी कम्पनीका करिब ५०० भन्दा बढी विद्युतीय सवारी साधन आयात गर्ने लक्ष्य राखिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले आठ दिनअघि मात्रै खुला गरिएको यस नाकाबाट हालसम्म १०० भन्दा बढी विद्युतीय सवारी साधन भित्रिसकेको जानकारी दिनुभयो ।

यसअघि यी विद्युतीय सवारी साधन रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो। तर, ती नाकाहरू बाढीपहिरोले अवरुद्ध भएपछि कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको हो। “भन्सार कार्यालयका अनुसार कोरला नाकाबाट ५०० भन्दा बढी ईभी भित्र्याइनेछ,” प्रजिअ भुसालले भन्नुभयो, “चिनियाँ भन्सारमा जाँचपास भएपछि नेपाली भन्सारले पनि जाँचपास गर्नेछ।”चीनबाट आयात गरिएका विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनको अभाव प्रमुख समस्या रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो ।

गाडीका साथै चाडपर्व लक्षित लत्ताकपडा, विद्युतीय सामग्री र कस्मेटिक सामानहरू पनि यस नाकाबाट आयात गर्ने तयारी भइरहेको छ। चिनियाँ भन्सारमा जाँचपास भई नेपाल भित्रिएका केही मझौला मालवाहक कन्टेनरहरू न्हेचुङ आइपुगेका छन्। मालवस्तु ढुवानीका लागि ७० देखि ८० वटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै कोरला नाका आइपुगेको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो।