मन्त्रीहरूले सेवासुविधा लिन्नँ भन्नु कुनैबेला अकुत कमाएको हुनसक्छ : विप्लव

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री भएकाद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरेसंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विप्लवले प्रतिक्रिया जनाएका छन् ।
मन्त्रीहरुले सरकारी सुविधा र तलबभत्ता नलिने घोषणा गर्दा कतिपयले प्रशंसा गरे पनि महासचिव विप्लवको भने ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति भनेर व्याख्या गरेका हुन् ।
सुशीला कार्की नेतृत्वको सरकार विस्तार हुँदै गर्दा विप्लव कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा व्यस्त थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘मन्त्रीहरुले आज (सोमबार) भाषण गरेको सुनेँ– म चाहिँ तलब लिँदिन भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?’
विप्लव यत्तिमै रोकिएनन् । उनले थप व्याख्या गर्दै भने, ‘त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । …यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’ यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको बुझाइ छ । त्यसैले उनले भने, ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ ।’
उनले यस्ता व्यक्तिहरुले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको सुनाए । ‘हेर्नुस् धेरै कुराहरु छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थ सिद्ध गर्ने अनि देशलाई तल पार्दिने,’ विप्लवले भने ।
उनले यस्ता खेल नखेलेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।