पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौँ, असोज ७ । सप्तरीको सुरुङ्गा नगरपालिका-२ स्थित हर्दियाको पोखरीमा आज दुई बालिकाको डुबेर ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक बस्नेतले स्थानीयले खबर गरेपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरूको शव निकालिएको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।