झापाका विभिन्न हिरासतबाट फरार १९ जना बन्दीकैदी अझै फरार

काठमाडौँ, असोज ८ । झापाका विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९१ जना थुनुवा अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि तीन कार्यालयका हिरासतमा रहेका ९२ जना थुनुवा फरार भएका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार, फरार भएकामध्ये एक जना थुनुवा आफैँ सम्पर्कमा आएका छन् भने बाँकीको खोजतलास भइरहेको छ ।
जेनजी आन्दोलनका क्रममा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाबाट ३६ जना र झिलझिले इप्रकाबाट ५ जना थुनुवा फरार भएको प्रहरीले बताएको छ । सोही आन्दोलनका क्रममा भदौ २४ गते विर्तामोड र दमकको इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियार भने अधिकांश फिर्ता भएका छन्। प्रहरीका अनुसार, लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेका छन् भने २४ थान हतियार अझै फिर्ता भएको छैन ।
फिर्ता भएका हतियारमध्ये एसएलआर ११ थान, इन्सास राइफल २६ थान, थ्रीनटथ्री राइफल १८ थान, सट गन ५ थान, ग्यास गन ६ थान, रिभल्भर ६ थान र एसएमजी ३ थान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फरार थुनुवा र लुटिएका हतियारको खोजतलास तीव्र रूपमा भइरहेको सूचना अधिकारी खड्काले बताए ।