नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा सानेपाबाट पक्राउ

काठमाडौँ, असोज ८ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालीन सञ्चालक तथा सहकारी ठगीका आरोपी केदारनाथ शर्मालाई प्रहरीले आज पक्राउ गरेको छ । सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि कारागार कार्यालय, नक्खुमा रहेका शर्मा जेनजी आन्दोलनका समयमा फरार भएका थिए ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आज ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।

ब्यूरोका निमित्त प्रवक्ता, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । उनलाई आजै कारागार कार्यालय, नक्खु बुझाइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार, अझै सात हजार कैदीबन्दी फरार छन् । यो पक्राउले सहकारी ठगीका पीडितहरूलाई केही हदसम्म न्यायको आशा दिलाएको छ ।