पुँजी बजार सुधार कार्यदलद्वारा नेप्सेको पुनःसंरचना र अन्य सुझाव पेश

काठमाडौँ, असोज ९ । पुँजी बजार सुधार सुझाव कार्यदलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनःसंरचनाका लागि प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियामार्फत पुँजी वृद्धि गर्न सुझाव दिएको छ । कार्यदलले पुँजी बजारमा आम लगानीकर्ताको मनोबल बढाउन प्रणालीगत र प्रक्रियागत सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न महत्त्वपूर्ण सुझावहरू पेश गरेको छ ।
नेप्सेको पुनःसंरचनामा नेप्सेको पुँजी वृद्धि गर्नका लागि आइपिओ प्रक्रिया सुरु गर्नुपर्ने, व्यक्तिगत कर निर्धारण गर्दा आय वर्षभित्र सामूहिक लगानी योजनामा लगानी गरेको निश्चित रकम कट्टी गर्न पाउने गरी आयकर ऐनमा व्यवस्था गर्न सरकारलाई प्रतिवेदनले दिएको सुझाव हो ।
यस्तै धितोपत्र बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थालाई समसामयिक पुनरावलोकन गर्न, संगठित संस्थाले प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्दा जारी पुँजीको न्यूनतम १० प्रतिशतको सीमालाई पुनरावलोकन गर्न नियमावली संशोधन गर्न सरकारलाई अनुरोध गरेको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको संस्थापक शेयर खरिद बिक्री प्रक्रियाको विद्यमान व्यवस्था पुनरावलोकन गर्दै लगानीकर्ताको व्ययभार कम गर्न र लागत प्रभावी बनाउन आवश्यक पुनरावलोकन गर्न प्रतिवेदनले संस्थापक शेयर खरिद-बिक्री प्रक्रियाको पुनरावलोकन तर्फ दिएको सुझाव हो ।
प्रतिवेदनको निष्कर्षमा भनिएको छ, “पुँजी बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिताको अवस्था, अन्य वैकल्पिक लगानीका अवसरको न्यूनता, दीर्घकालीन पुँजी परिचालनको राष्ट्रिय आवश्यकता, विद्यमान कानुनी व्यवस्था, स्रोतसाधनको उपलब्धता, संस्थागत क्षमता, सुधार कार्यान्वयनबाट आउनसक्ने असर र कार्यदललाई प्राप्त कार्यदेशसमेतलाई मध्यनजर गरी पुँजी बजारको समस्या समाधानका लागि कार्यदलले देहायका सुधारका सुझाव प्रस्तुत गरेको छ ।”
अर्थमन्त्री स्तरबाट असोज ३ गते गठित सो कार्यदलले पुँजी बजारको समग्र विकास र लगानीकर्ताको हितलाई ध्यानमा राख्दै यी सुझावहरू पेश गरेको हो ।