रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ गरी नेपाल ल्याइयो

Model

काठमाडौँ, असोज १० । नेपाल प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी गरिएकी एक महिलालाई संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका-१६ स्थायी घर भई सिन्धुली कमलामाई नगरपालिका-१४ मा बसोबास गर्दै आएकी ऐश्वर्या दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, “ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेकी ती महिलालाई प्रहरीले युएईमा पक्राउ गरी सम्बन्धित मुद्दामा आवश्यक कारबाहीका लागि नेपाल फिर्ता ल्याएको हो ।” उक्त मुद्दामा संलग्न भई फरार रहेकी दाहाललाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्नका लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयले गत चैत २१ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

पक्राउ परेकी दाहाललाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *