सञ्चारमन्त्री खरेलद्वारा जनेजी प्रदर्शनका घाइतेसँग भेट
काठमाडौँ, १० असोज । सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका घाइतेहरुसँग भेट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उहाँहरुका अभिभावकसँग मन्त्री खरेलले आज भेट गर्नुभएको हो ।
अस्पतालमा पुगरे घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै उपचारमा कुनै कसूर बाँकी नराख्न उहाँले आग्रह गर्नुभयो । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उहाँले घाइतेहरुका पक्षमा भविष्यमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।
मन्त्री खरेलले जेनजी प्रदर्शनको जगमा बनेको सरकारले सहिद र घाइतेहरुको मागअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अहिलेको हाम्रो प्राथमिकता घाइते हुनुभएका सबै जना छिटो निको भई घर फर्किनुहोस भन्ने हो । त्यसपछि सहिद र घाइतेका पक्षमा भविष्यमा केके गर्न सकिन्छ, हामी सोच्दैछौँ, मन्त्री खरेलले भन्नुभयो, हामी सबै मन्त्रीहरु एकै पटक आएका छैनौँ । फरक फरक समयमा आएर घाइतेहरुको अवस्था बुझिरहेका छौँ । यसो गर्दा घाइतेहरुको पछिल्लो अवस्थाबारे जानकारी लिनसँगै मन्त्रिपरिषद्मा यस विषयमा खबर पुर्याउने हाम्रो उद्देश्य हो ।
जेनजी प्रदर्शनमा घाइते भई अस्पताल पुगेका दुई हजार ३१६ जनामध्ये उपचार पश्चात दुई हजार २१२ जना घर फर्किसकेका छन् । बाँकी घाइतेहरु विभिन्न १८ अस्पतालमा उपचाररत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार उपचाररत घाइतेहरुको सङ्ख्या ५६ रहेको छ ।