रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौँ, असोज १०। प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँ बस्तीबाट एक थान रिभल्वर र एक थान बिनेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिनुभयो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तामाङको कोठामा खानतलासी गर्दा उक्त हतियार फेला पारेको हो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताउनुभयो ।