सर्लाहीमा स्कारपियोको ठक्करले दुई युवाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ, असोज ११ । सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति भएको दुर्घटनामा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना युवाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रदेश ३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउँपालिका-२ बस्ने २३ वर्षीय अंकित चौधरी र २५ वर्षीय रोहित सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोही मोटरसाइकलमा सवार २३ वर्षीय शिवशङ्कर पण्डित गम्भीर घाइते भएका छन् । घाइते पण्डितको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार, हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ नम्बरको भारतीय स्कारपियोले विपरीत दिशाबाट तीन जना सवार ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका चौधरी र सहनीलाई रामजानकी अस्पताल जनकपुर पुर्‍याइएको थियो, जहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार भएका स्कारपियो चालकको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।